Message from Chairman

सर्बप्रथम बेलायतबासी सम्पुर्ण कोइंच दाजुभाई दिदिबहिनीहरुमा मेरो हार्दिक अभिबादन - नम्सेवल !
एक निष्ठावान सहयोगी तथा समाजसेवकको रुपमा हाम्रो संस्था किरात सुनुवार सेवा समाज बेलायतको अध्यक्ष पदभार सम्हाली काम गर्ने अवसर पाएकोमा आफुमाथि थप जिम्मेवारी आएको महसुस गरेको छु र महत्वपुर्ण अवसरको लागि सम्बन्धित सबैमा हार्दिक धन्यबाद प्रदान गर्न चाहन्छु ।

यस कार्यकालमा बिगतमा आयोजना हुंदै आएका बिभिन्न मनन योग्य कार्यक्रमहरुलाई निरन्तरता दिंदै संस्थाको बिध्यमान केहि कामहरुलाई संशोधन गरि थप आवश्यक अतिरिक्त कार्यहरुलाई प्राथमिकता दिने छौं । जस अन्तर्गत सबैभन्दा पहिलो संस्थाको सदस्यता दर्ता, बितरण  तथा नबिकरण सिस्टमलाई प्रभाबकारी बनाउनका लागि आवश्यक काम गर्ने, दोश्रो संस्थामा कोईंच युवा तथा माहिलाहरुलाई पनि सस्थाको काममा महत्वपुर्ण भूमिका निर्बाह गर्नको निमित्त अवसरहरुको श्रीजना गर्ने, र तेश्रो संस्थालाई मजबुद बनाउंदै लानको लागि आर्थिक रुपमा पनि सबल हुनुपर्ने भएकोले सोको निमित्त थप रकमहरु संकलन तथा श्रोतहरुको ब्यवस्थापन गर्ने हाम्रो प्रमुख लक्ष्यहरु रहने छ ।

बेलायतबासी सम्पुर्ण कोइंचहरुलाई सदस्यता लिनको निमित्त सहज वातावरण श्रजना गर्ने र सम्पुर्ण सदस्यहरुले समेत आवश्यक सुधारका बाटाहरुलाई खुला गर्न सकारात्मक सोंचको बिकास गर्नु पर्छ भन्ने भावनालाई उजागर गर्ने गराउने कामलाई प्रमुख रुपमा लिइने छ । हामो संस्था भर्खर जन्मिएको छ, यस्लाई हिंड्न सक्ने बनाउनु हामी सबैको जिम्मेवारी हो भन्ने मलाई लागेको छ। र, हामी सम्पुर्ण कोइंचहरुले हाम्रो संस्थाको उद्देश्य पुरा गर्नको लागि एकजुठ भएर सहकार्यमा जुट्न सक्ने नै छौ भन्ने आशा तथा बिश्वास लिएको छु । यसको निमित्त हामी संस्थाका कार्यकारी पदाधिकारीहरु मात्र पर्याप्त होइन, यसको अलावा हामीलाई तपाईहरुको महत्वपुर्ण सल्लाह तथा सुझाबको आवश्यक पर्नेछ र हामी त्यस्को निमित्त सदैब अपेक्षा गरिरहेको हुनेछौं । र, सहकार्य हामी कोइंचहरु बिचमा निश्चित रुपमा हुनेछ, आवश्यकता हेरि यहाँ अवस्थित सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसंग हुनेछ ।

हामी आफ्नो पौराणिक थाकथलोबाट धेरै टाढा प्रबासमा आएर बसोबास गरिरहेको अवस्थामा हामीले कम्तीमा पनि आफ्नो जातिय भेषभुषा, संस्कृति तथा भाषाको जगेर्णा गर्न सक्नु मात्र पनि एउटा उल्लेखनिय उपलब्धी हुनेछ र त्यो नै हाम्रो पहिचान हो, हाम्रो बिकास हो भन्ने हामीले लिनु पर्छ भन्ने मलाई लागेको छ । त्यसको लागि हामीले हाम्रो कार्यकालमा अधिकतम रुपमा पुरा गर्नको निमित्त यहाँ अवस्थित सम्पुर्ण कोइंचहरुको सहयोगमा भरपुर कोशिस जारी राख्ने छौं । यस अन्तर्गत हामीले हाम्रा अग्रजहरु र नयाँ पिडिका युवा जमातहरुको बिचको ग्यापलाई साँघुरो बनाउंदै उनीहरुको बिचमा एउटा बजबुद पुलको रुपमा भुमिका निर्बाह गरि सुमधुर सम्बन्ध कायम गर्न आवश्यक भुमिका निर्बाह गर्ने छौं ।

र, अन्त्यमा हामीले संस्थाको तर्फबाट आयोजना गर्ने कार्यक्रमहरुमा यहाँहरुको भब्य उपस्थितिको अपेक्षा गर्दै कार्यक्रमहरुलाई सफल बनाई दिन हुनको निमित्त संस्थाको अध्यक्षको हैसियताले साथै सम्पुर्ण कार्यसमिति पदाधिकारीहरुको तर्फबाट हार्दिक बिनम्र अनुरोध गर्दछु ।
धन्यबाद, अभिबादन - चेरेदुम।

यादब तुर्सुचा 
अध्यक्ष
किरात सुनुवार सेवा समाज बेलायत